News Griha :: न्यूजगृह
सरकारको ढाँटछलप्रति विद्यालय कर्मचारी आजित, प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रश्न 

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीसँग समय समय गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोशित भएका छन् ।

बुधबार साँझ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्री र ठूला दलका नेताहरूलाई भेटर बुझाएका ज्ञापनपत्र, ध्यानाकर्षणपत्र पनि बेवास्ता गरिएको भन्दै सरकारले विद्यालय कर्मचारीलाई गरेको अन्यायपूर्ण व्यवहारप्रति पुनःआन्दोलन गर्ने संकेत गरेका छन् ।

अध्यक्ष तिवारीले भने, ‘कति भेटघाट कति भेटघाट कति भेटघाट ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू भन्नुहुन्छ ‘मैले कुरा बुझेको छु’,कहिलेसम्म बुझ्ने सम्माननीयज्यू ? अर्थमन्त्री डा.प्रकाशशरण महत भन्नुहुन्छ ‘म गर्छु’ कहिले गर्ने ? मान्छे मरेपछि औषधी गर्न लैजाने ? अब अति भयो । भोको पेटले अब केही नसुन्ने वातावरण बन्दैछ ।’

विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयनका लागि संसदमा ४० जना बढी सांसदले सरकारको ध्यानाकर्षण गराए पनि सरकारले नसुनेको उनले बताए ।

‘संसदमा ४० जनाभन्दा बढी सांसदले बोल्दा पनि हाम्रा माग पूरा गर्न सरकार तयार छैन । आन्दोलन गर्‍यौं । वार्ता भयो । दौडधुप गरेकै छौं । अति नै भयो । बेलैमा चेत खोलोस् सरकारले । होइन भने यसको असर भयानक हुन्छ । अति भयो । ढाँट, छलकपट कति ?,’ अध्यक्ष तिवारीको भनाइ छ ।

शिक्षा ऐन ल्याउन लागिएको भन्दै खुसी भएका विद्यालय कर्मचारी अहिले निराश छन् । ‘शिक्षा ऐन आयो आयो भन्दै गर्दा हराउँछ । एउटा शिक्षा ऐन ल्याउन सक्दैन । सामुदायिक विद्यालयका कर्मचारीको सेवासुविधा दिन्छौं भनेर घोषणापत्रमा लेखेका प्रमुख सत्ताधारी दल नेकपा माओवादी केन्द्र अनि नेपाली कांग्रेसलाई के ले रोक्यो ? हामीलाई तलबमान दिन बजेट भाषणमा,’अध्यक्ष तिवारीले भने, ‘कि हामी पार्टीको कुनै घटक संस्था नभएर हो त ? हामी नेपाली जनता होइनौं ?’

विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयनका लागि अब केही दिन पर्खने बताउँदै अध्यक्ष तिवारीले सहमति कार्यान्वयन नभए फरकखालको आन्दोलन घोषणा गर्ने बताए ।

उनले भने,‘फेरि अब नेपाल विद्यालय कर्मचारी परिषद् फरकखालको आन्दोलनको तयारी गर्दै छ । खासगरी नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र सम्बन्धित सरोकारवाला निकायको बेलैमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:२०
Weather Update