परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेनशुक्रबार काठमाडौं आइपुगेका हुन् ।
उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकाले गरेको सहयोगका बारेमा सरोकारवालाहरूसँग छलफल गर्ने छन् । दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १६:१०













