News Griha :: न्यूजगृह
पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक छ : माओवादी प्रवक्ता

काठमाडौं— नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक भएको बताएका छन् । 

शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले कम्युनिष्ट पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताको घरघरमा जाने बताएका हुन्  । 

उनले भने, ‘कम्युनिष्ट पार्टीलाई सबल सुदृढ बनाउनका लागि यो अभियान लिएर जनताको घरघरमा जाँदै छौं । हाम्रो पार्टीलाई वैचारिक पुनर्गठन गर्न आवश्यक छ । राजनीतिक पुनर्गठन गर्न पर्ने आवश्यकता छ । सांगठनिक पुनर्गठन गर्न पर्ने आवश्यक छ । हामीले विचारको साथसाथै विधिको पनि विकास गर्न आवश्यक छ । ’ प्रवक्ता सापकोटाले जनतासँग माओवादीको तीन महिने अभियानको तयारी पूरा भएको पनि बताए । 

अभियानको मुख्य आशय भनेको जनतामा जाने, जनताको मन जित्ने, जनताको मागलाई थाहा पाउने र पार्टीले कठोर अनुशासन लागू गर्ने रहेको उनको भनाइ छ । पार्टीका सबै पदाधिकारीलाई जिम्मेवारी तोकेर माओवादीले जिल्ला जिल्ला पठाएको पनि सापकोटाले बताए ।  उनले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा रोल्पाको सुनछहरी गाउँपालिका, आफू स्वयं सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा खटिने जानकारी पनि दिए । 

यस्तै, महासचिव देव गुरुङ लमजुङको सुन्दरबजार नगरपालिका–८, उपमहासचिव गिरिराजमणि पोखरेल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरि–२, शक्ति बस्नेत जाजरकोटको भेरी नगरपालिका, मातृका यादव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा खटिने बताए । 

सचिवमा दीनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:३९
Weather Update