
काठमाडौं— धादिङको धुनीबेँसी नगरपालिका– ९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् ।
उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरि फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ ।
स्थानीय लक्ष्मी राईले भनिन्, ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।’ सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० जना प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् ।
जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगले राखेर आफूलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताए ।
‘अस्पताल पुग्ने बित्तिकै टिकट उद्योगकै प्रतिनिधिले काट्नुभयो, लाइन बस्नु पनि परेन, सुरुमा दुई जनालाई सिधै भित्र छिराउनु भयो, रिपोर्टमा चाँहि केही देखिएन, सामान्य छ भन्यो,’ उनले भनिन्, ‘रिपोर्ट हामीलाई दिनुभएन । पहिला पनि जाँच गरेको केही देखिएन भन्नुभयो, रिपोर्ट हामीलाई दिनुभन्दा माथि देखाउनुपर्छ, तपाइको घरघरमै ल्याइदिन्छौँ भनेर हामीलाई हेर्नै नदिई लग्नुभयो, हामीलाई रिपोर्ट हेर्न दिएन ।’
उनका अनुसार जाँचका क्रममा रगत, खकार, पिसाब, मधुमेह, रक्तचाप सबै जाँच भएको र डाक्टरले पनि कुनै समस्या नदेखिएको मौखिक जवाफ दिएको थियो । ‘हामीलाई रोग नै नलागेको हो की उद्योगका व्यक्तिले डाक्टरलाई नै दबाबमा राखेर लुकाइ दिन लगाइदियो हामीले पत्तो लाउन सकेनौँ,’ स्थानीय शोभा राईले भनिन् ।
शोभाको घरमा शोभासहित श्रीमान् र छोराले पनि नियमित एलर्जीको औषधि प्रयोग गरिरहेका छन् । अस्पताल जाँदा एलर्जी हो भनेर पठाउने गरेको र के कारण एलर्जी भयो भन्ने कुरा नखुलाइ दिने गरेको उनको भनाइ छ । उद्योग सञ्चालनमा आएको पाँच/छ वर्षसम्म खासै समस्या नभए पनि विस्तारै असर देखिन थालेको स्थानीयको भनाइ छ । वृद्धवृद्धामा दम खोकीको समस्या देखिएको स्थानीय रमेश राईले बताए ।
उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनि फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरि सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो,’ राईले भने । धुनीबेँसीका वडा नम्बर २, ५ र ९ का बस्ती पनि प्रदूषणको मारमा छ । पशु वस्तुमा पनि मानिसमा जस्तै समस्या देखिएको छ । उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागि स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि उद्योग सञ्चालकले बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।
युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ । स्थानीयबाट गुनासो आएपछि गाउँका र उद्योगका केही व्यक्तिलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेर समस्या पत्ता लगाउने काम गरिरहेको उद्योगका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।
उद्योगको वातावरणीय प्रदूषण मूल्याङ्कन गर्ने प्रक्रिया थालिएको उनको भनाइ छ । धुलो बढी निस्किएकाले भारतबाट प्राविधिक ल्याएर काम गरिरहेको पनि उद्योगले जनाएको छ ।