News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकारसम्बन्धी रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं— कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ ।

थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ । कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन् । मुख्यमन्त्री विरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ । यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलास उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिएको थियो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो । 

सभामुखले राजीनामा दिई मुख्यमन्त्रीलाई मतदान गरेको र उपसभामुख बिदामा रहेको समयमा ज्येष्ठ सदस्यलाई प्रदेश सभाको सभाध्यक्ष बनाइएको थियो । तर विश्वासको मत लिने क्रममा बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले पनि मतदान गरेका थिए ।

उक्त मतदान संविधान विपरीत रहेको भन्दै पूर्व मुख्यमन्त्री समेत रहेका  कार्कीले उक्त सरकार गठन उत्प्रेषणको आदेशबाट बदर गरी ठूलो दलको हैसियतमा आफू नेतृत्वको सरकार गठनका लागि परमादेश दिन माग गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:२१
Weather Update