
काठमाडौं— केही दिनदेखि मौसम खुलेको छ । लगातार वर्षा हुन छोडेर घाम लागेको छ । फाट्टफुट्ट वर्षा भएको छ । सोही क्रममा शुक्रबार पनि केही भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।
शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा, मधेस, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने महाशाखाले बताएको छ ।













