
सुर्खेत— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा बिहीबार आयोजित ‘सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले नयाँ संकल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेर मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिंगो जीवन अर्पण गर्ने बताएका हुन् ।
उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ’,उनले भने,‘यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’
उनले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्वर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिए ।
कर्णाली कोरिडरले जनताको भविष्यलाई सुनिश्चित गर्नुका साथै आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढंगले अगाडि बढ्न आग्रह गरे ।