
काठमाडौं— विभिन्न जिल्लामा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरासीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको हो ।
बिहीबार बिहान पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका–१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही नगरपालिका–१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा पानी तान्ने चापाकलमा जडान भएको मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार छुट्टाछुट्टै ३ स्थानमा करेन्ट लागेर अन्य ३ जनाको मृत्यु भएको छ । चितवन, रत्ननगर नगरपालिका–१५ माधवपुर अन्नपूर्ण टोलस्थित निर्माणाधीन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–१५ बस्ने १८ वर्षीय ओमबहादुर गुरुङको बुधबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटी बस्ने २७ वर्षीय सुरेश चौधरीको पनि बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
यता ललितपुर महानगरपालिका–४ धोबीघाटस्थित निर्माणाधीन घरको इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने कैलाली टिकापुर नगरपालिका–२ घर भएका २७ वर्षीय धीरज शाहको बुधबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













