पाल्पा— कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढंगले मौरीपालन गरिन्थ्यो ।
औषधीय गुण मानिने, स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो ।
मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो भन्ने गाउँभरि नै चर्चा हुन्थ्यो । तर अहिले भने यसरी परम्परागत ढंगले मौरीपालन गर्ने चलन गाउँमा कम हुँदै गएको छ ।
गाउँमा बस्ने बुढापाकाले परम्परागत रुपमा आफूले गरिआएको व्यवसाय झट्ट हटाउन नसक्दा केहीले निरन्तरता दिएका छन् । पहिलेको तुलनामा घारको संख्या भने घटाउँदै गएका छन् ।
रामपुर नगरपालिका– १ कुमैडाँडामा गोवर्द्धन वंशीको घरमा पुरानो शैलीमा घरकाभित्ता, बार्दलीमा लहरै मुढेघार छन् । परम्परागत व्यवसाय गाउँमा सबैले छाड्दै गएको अवस्थामा उनले भने निरन्तरता दिइरहेका छन् ।
उनले गाउँमा जंगलबाट उडेर आएका मौरी छोपेर घारमा राखेर पाल्न सुरु गरेका छन् । माउको संख्या वृद्धि हुँदै जाँदा गोला छुट्टाएर क्रमिक रुपमा घार विस्तार गर्दै गएको उनले बताए । उनका घरमा हाल १३ वटा परम्परागत (मुढेघार) र एक वटा आधुनिक घारमा मौरी छन् ।
मुढेघारमा मौरी पाल्न समस्या छैन । तैपनि हिजोआज गाउँमा धेरैले छाड्दै गएका छन् । घार तयार पार्न गाउँमा काठपातमा लगानी गर्नुपर्दैन् ।
आफ्नै खरबारीका काठले घार तयार हुन्छन् । चिलाउने, कटुस, क्यामुना, टुनीलगायतका काठबाट मौरी बस्न मिल्ने खालको हातले नै कुँदेर घार तयार पारी मौरीगोला राख्ने गरेको वंशी बताउँछन् ।
उनले एक वर्षमा ५० मानासम्म मह उत्पादन गर्छन । प्रतिमाना एक हजारमा अहिले मह धमाधम बिक्री भइरहेको छ । मौसम राम्रो भएका बेला मह धेरै उत्पादन लिन सकिन्छ । खडेरीयाममा भने उत्पादन घट्ने उनको भनाइ छ ।
‘दुई छोरा रामपुरको बजार क्षेत्रमा बसोबास गर्छन्, हामी श्रीमान श्रीमती गाउँमै बसेर मौरीपालन, बाख्रा, भैँसी, कुखुरापालन, कोदो, मकै, गेडागुडी खेतीमै भुलेका छौँ’, उनले भने,‘गाउँ छाडेर शहर बजारमा किनेर खानुभन्दा आफ्नै पौरखमा रमाउँदाको मज्जा नै बेग्लैछ ।’
३/३ महिनामा पनि मह निकाल्न सकिने हुँदा एकै घारमा राम्रो समय परेका बेला सात मानासम्म मह निकालेको वंशीले अनुभव सुनाए । माउ धेरै भएमा ३/३ महिनामा उकम हुँदाका बखत ६/६ महिनामा उनले मह काढ्छन् ।
उनका अनुसार मह निकाल्नका लागि असार, साउन, माघ, चैत महिना उपयुक्त समय हो । पहिलाजसो ठूलो संख्यामा वस्तुभाउ पालन गर्न नसकिए पनि थोरै–थोरै भए पनि गाउँमै बसेर पशुपालन, खेतीपातीमा समय बिताउने माध्यम बनेको उनको भनाइ छ ।
कुमैडाँडा क्षेत्रमा करिब ६५ घरपरिवारको बसोबास छ । पहिला सबैका घर–घरमा मौरीघार राखिन्थ्यो । अहिले भने ५ देखि ७ घरपरिवारमा मात्रै सीमित बन्न पुगेको छ ।
रामपुर १ मकैडाँडाका राजकुमार खत्रीको घरमा अहिले १२ मुढेघार छन् । तीमध्ये ७ घारमा मौरी छन् । वि.सं.२०५५ देखि परम्परागत घारमा मौरीपालन गर्दै आएका खत्री अहिले भने पहिलाको तुलनामा कम घारमा मौरीपालन गरिएको बताउँछन् ।
जंगलबाट उडेर आएको मौरी छोपेर घारमा पाल्न थालेका खत्रीले हरेक वर्ष त्यसबाटै गोला विभाजन गरी घार बढाउँदै गएको बताए ।
‘हिजोआज गाउँमा बस्नेक्रम पातलिँदै गएको छ, हाम्रो परिवार अहिले गाउँदेखि तल बेँशीमा पनि बसोबास गरेपछि (दुई ठाउँमा बसोबास हुँदा) मौरीपालन व्यवसाय कम हुँदै गएको छ,’ उनले भने ।
खत्रीले २ दर्जन बढी घारमा मौरीपालन गर्दा वर्षमा ७० मानासम्म मह उत्पादन हुनेमा हिजोआज भने वर्षमा १२ देखि १५ मानासम्म मह उत्पादन हुने गरेको अनुभव बताए ।