
काठमाडौं— जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई वैधानिक बनाउने तयारी भएको हो ।
निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन गरेको छ । संसद्ले पनि उक्त कानुनलाई अनुमोदन गर्ने विश्वासका साथ गाँजा सेवन गर्नेहरू क्लबमा आबद्ध हुन थालेका छन् ।
गँजेडीका ‘क्यानाबिस सोशल क्लब’ धमाधम खुलेका छन् । एउटा क्लबमा ५ सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान लागु गरिएको छ ।
सरकारी नियमअनुसार एक जनाले ३ वटा गाँजाका बिरुवा लगाउन पाउनेछ भने दैनिक २५ ग्राम र एक महिनामा अधिकतमा ५० ग्राम गाँजा किन्न पाइनेछ ।
गाँजालाई वैधानिकता दिने सरकारी योजनाको चिकित्सक तथा कानुन कार्यान्वयन निकायका अधिकारीले विरोध गरेका छन् ।
विपक्षी दलका नेताले प्रस्तावको खुलेर निन्दा गरेका छन् । लागुऔषध दुरुपयोगलाई प्रोत्साहन गर्ने प्रस्तावित विधेयक देशका निम्ति अनुपयुक्त भएको उनीहरूको तर्क छ । एजेन्सी













