
पोखरा— नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित पौडेलले आज शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली राजनीतिमा लामो समय सादगी र निष्कलंक नेताका रूपमा आफ्नो पहिचान बनाएका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा उनका सहकर्मी तथा शुभेच्छुकहरू हर्षित त छन् नै राष्ट्रपतिका रूपमा रहँदा उनको मौलिक सादगी जीवन र निष्कलंक छवि जोगाउने विषय आगामी दिनमा प्रमुख चुनौती रहेको भन्दै उनीहरुले चासो र चिन्ता लिएका छन् ।
विभिन्न दलको समर्थनमा राष्ट्रपति पदमा निर्वाचित भएका पौडेलले कुनै पनि दबाब र प्रभावमा नपरी पदको गरिमा र महत्त्वलाई अझै बढाउने गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनका साथीहरुले जोड दिएका छन् ।
पोखराका शिक्षासेवी तारा पाखे उनका शुभेच्छुकसँगै गण्डकी छात्र समितिका सहकर्मी हुन् । राष्ट्रपति पौडेलभन्दा एक वर्ष पाका पाखे वि.सं. २०२३ मा काठमाडौंमा रामचन्द्र पौडेलको अध्यक्षतामा गठित गण्डकी छात्र समितिको सांस्कृतिक सचिव बनेका थिए ।
विद्यार्थीकालमा सहकार्य गरेका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा आफू निकै हर्षित भएको बताए । ‘सँगै एउटै समितिमा रहेर काम गरेको मेरो एकजना सहकर्मी देशको सर्वोच्च पदमा पुग्नु मेरा लागि खुसीको विषय हो’, उनले भने, ‘मैले संगत गर्दादेखि नै शालीन, सादगी एवम् निष्कलंक छवि बनाउनुभएका पौडेलले आगामी दिनमा उहाँको यो मौलिकपनलाई कायम गर्न सक्नुपर्छ ।’
कसरी बन्यो गण्डकी छात्र समिति ?
पाखेका अनुसार तत्कालीन समयमा कम्युनिस्ट भनेर चिनिने डा.वासुदेव त्रिपाठीलगायत विद्यार्थीले ‘गण्डकी ज्योति मण्डल’ संस्था गठन गरेका थिए । उक्त संस्थाले आयोजना गरेको वादविवाद प्रतियोगितामा भाग लिँदा आफू पुरस्कृत भएको अनुभव सुनाउँदै उनले केही समयपश्चात उक्त संस्थाको विरोधीका रूपमा ‘गण्डकी छात्र समिति’ स्थापना भएको बताए ।
‘गण्डकी ज्योति मण्डलमा दोस्रो पटकको कार्यक्रममा डा.शेषकान्त अर्याल र पूर्वमाननीय इन्दु शर्माले प्रतिवाद गर्नुहुन्थ्याे । उहाँहरू कार्यक्रममा पहिलो पटक आउनुभएको थियो । कार्यक्रममा विरोध गर्ने तयारीका साथ उहाँहरू उपस्थित हुनुभएको थियो’, पाखेको ‘प्रजातन्त्रका बलिवेदी’ पुस्तकमा उल्लेख छ ।
पुस्तकमा भनिएको छ,‘विद्यार्थी नेता रामचन्द्रजी पनि अब चर्चामा हुनुहुन्थ्यो । साथीहरूसहित गोलबन्द भएर ज्योति मण्डलको विरोधमा राजेश्वर देवकोटालाई समेत हकार्न पुगेको रमाइलो घटना सम्झँदा अहिले पनि आनन्द लाग्दछ । अब रामचन्द्रजीको सक्रियतामा हामीले गण्डकी छात्र समिति गठन गर्ने भयौँ । रामचन्द्रजी त सभापति हुनुहुने भयो । त्यसमा कसैको कतै विरोध थिएन सुनिएन ।’
आफूभन्दा उमेर तथा पढाइमा ज्येष्ठता भएका लक्ष्मी भट्टराईलाई समितिको सचिव बनाइएको उल्लेख गर्दै पाखेले सो समयमा रामचन्द्र पौडेलले ‘तिमीलाई सचिवबाहेक अरू रोजेको पदमा राख्छु’ भनेको स्मरण गरे । त्यस समयमा आफूलाई संस्कृत कलेजमा पनि सचिव नदिई सहायक सचिव मात्रै दिएको र यहाँ पनि नदिने ? भनेर कराए पनि उनले नमानेको उल्लेख गर्दै पाखेले त्यसो भए सांस्कृतिक सचिव हुन्छु भनेको पुस्तकमा उल्लेख छ ।
विद्यार्थीकालदेखि नै संगत गर्दा पौडेल सरल, शिष्ट स्वभावको पाएको पाखेको अनुभव छ । सरल र शिष्ट स्वभावका पौडेल त्यस समयमा पनि आँटिलो तथा जोसिलो रहेको भन्दै पाखेले सुनाए,‘एक दिन काठमाडौंमा केशव रेग्मी, म र रामचन्द्रजी एउटै कोठामा थियौँ । गफगाफका क्रममा रामचन्द्रजीले ‘ए तारा जी तपाईं यो कलेजमा मात्रै हो, म त नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघमा गएर भाषण गर्ने हो’, भने । ‘हामी दुवैजना हाँस्यौँ ।’
त्यसबेला गाउँबाट आएको व्यक्तिको यत्रो आँट जस्तो लागे पनि पौडेल निरन्तरको साधनाबाट देशको सर्वोच्च पदमा पुग्न सफल बनेको पाखेको बुझाइ छ ।
राजनीतिमा विभिन्न आरोहअवरोह आए पनि त्यसको प्रवाह नगरी निरन्तर क्रियाशील पौडेल राष्ट्रपति बनेको भन्दै पाखेले उनको धैर्यता र निरन्तरको क्रियाशीलता प्रत्येक राजनीतिकर्मीका लागि प्रेरक भएको बताए ।
आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट वि.सं. २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा जन्मिएका पौडेल गण्डकी प्रदेशबाटै देशको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन् ।
वि.सं. २०१६ मा पोखरामा हिमालयन छात्र संघ स्थापना गर्दै राजनीतिक यात्रामा जोडिएका पौडेल देशका विभिन्न आन्दोलनका जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।













