
काठमाडौं— सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा बिहीबार बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवम् मौलिक बाजागासहितको यात्रा चलिरहेको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहानैदेखि मानिसको भीड लागेको छ ।
एक वर्षभित्र दिवङ्गतका आफन्तको सम्झनामा बिहीबारका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउनेको लाम लागेको हो ।
गाई वा गाईका रूपमा सिँगारी जात्राका लागि निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको देखिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यही धार्मिक विश्वासका आधारमा वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ ।
मल्लकालदेखि सुरु भएको गाईजात्रा अहिले काठमाडौं उपत्यकाको मौलिक पर्वका रूपमा स्थापित भइसकेको छ ।













