
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाईका साथ लागू गरिने भएको छ ।
पार्टीका कुनै संगठन, विभाग या पदाधिकारीमा एक व्यक्ति, एक पदको मान्यतालाई कायम गरिने भएको जसपाले जानकारी दिएको छ ।
हाल पार्टीले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य संख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशीक संरचनले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नु पर्ने व्यवस्था गरिएको हो ।