News Griha :: न्यूजगृह
जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ : महामन्त्री थापा

तनहुँ— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए । 'आवधिक निर्वाचनको विशेष महत्त्व छ । निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्', उनले भने, 'हामीले जनताको विश्वास जित्नुपर्छ ।' 

महामन्त्री थापाले उपनिर्वाचनमा पनि सत्तारूढ गठबन्धनबीच तालमेल भएकाले तालमेललाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 'तालमेलका विषयमा विभिन्न मत छन् । मैले पार्टीभित्र पनि फरक मत राख्दै आएको हुँ', उनले भने, 'त्यसको फरक कारण छ । पार्टीभित्र फरक मत राख्न पाइन्छ, निर्णय भएपछि त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।'

यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले लोकतन्त्रको संस्थागत विकासविना देश विकास हुन नसक्ने र त्यो कांग्रेसको नेतृत्वमा मात्रै सम्भव रहेको बताए । तनहुँको विकासका लागि कांग्रेसका उम्मेदवारले जित्नै पर्ने भण्डारीले बताए

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बन्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको बताए । उनले जिल्लाको खानेपानी, सडक, बिजुलीलगायतका क्षेत्रमा विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । 

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले तनहुँमा कांग्रेसको गरिमा पुनः कायम गर्नुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:१०
Weather Update