
काठमाडौं— प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ ।
बिहीबार बिहानैदेखि काठमाडौंको बसन्तपुर क्षेत्रमा गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न दान गरिन्छ ।
बसन्तपुरमा गाईजात्राको अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई र उनीहरूको तस्बिर निकालेर मनाउन सुरु गरिएको छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले आघात पुगेकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नु पर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व ुुरु भएको ऐतिहासिक कथन छ ।
यसबाट रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति रहेको पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानु पर्ने प्रथा अहिलेसम्म जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।













