![कृषि औजारसहित प्रदर्शन गरे मिटर ब्याज पीडितहरूले [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/MiterByaj Pidit in Kathmandu-11680524284.png)
काठमाडौं— मिटर ब्याज पीडितले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला अर्को मिटर ब्याज पीडित टोली पनि काठमाडौं आइपुगेको छ ।
उक्त टोलीले सोमबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका छन् । सिंहदरबार अगाडि मिटरब्याज विरुद्ध कार्यक्रम गरेका उनीहरूले किर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्ने लगायतका माग राखेका छन् । उनीहरू शान्ति बाटिकामा बस्ने बताइएको छ ।

गत शनिबार सरकारले पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
साथै सरकारले आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । यसबारे आइतबार संसद्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या दीर्घकालीन समाधान गर्न र पीडितलाई न्याय दिन आयोग गठन गर्ने बताएका थिए ।

तर, पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
गत १३ चैतमा काठमाडौंमा आएको मिटर ब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि अर्को समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

सोमबार भएको प्रदर्शनमा राजनीतिक दलको झन्डासमेत प्रयोग भएको छ । सोमबार काठमाडौंमा आएका मिटिरब्याज पीडितहरूले मिटर ब्याज विरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर सोमबार पीडितहरूले प्रदर्शन गरेका हुन् ।



















