
काठमाडौं— नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधारले वि.सं.२०५६ पछि शिक्षककाे कुनै नयाँ दरबन्दी नथप्नु विडम्बना रहेको बताएकी छिन् ।
ट्याक्सएड एलाअन्स नेपालको सहकार्यमा नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टू) द्वारा आयोजित ‘शिक्षक व्यवस्थापन र शिक्षकमा लगानी संवाद कार्यक्रम’ कार्यक्रममा बोल्दै तुलाधरले सो कुरा बताएकी हुन् ।
उनले शिक्षाको गुणस्तर खस्किनुमा शिक्षकलाई मात्र दोष नदिई शिक्षक व्यवस्थापनमा राज्यलाई प्रश्न गर्नुपर्ने बताइन् ।
शिक्षक विद्यार्थीको अनुपात ७६ हजार भन्दा धेरैले फरक रहेको समेत उनले बताइन् । उनले भनिन्,‘शिक्षा क्षेत्रमा शिक्षकलाई दोष लगाउनु अगाडि शिक्षा क्षेत्रमा बजेट बढाएर मात्र यस क्षेत्रबाट लाभ खोज्नु आजको मुख्य आवश्यकता हो ।’
उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालले मुलुकमा गुणस्तरीय शिक्षाको विकास र प्रवर्द्धनका लागि शिक्षकको व्यवस्थापन पनि एक महत्वपूर्ण विषय रहेको बताए ।













