६० किलो सुन प्रकरणमा दुःख दिएको भन्दै भन्सार विभागका कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागमा रहेका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् ।
पछिल्लो समय ६० किलो सुन भन्सार छली विमानस्थलबाट बाहिर निस्केपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको घटनामा आफूहरूलाई दुःख दिएको भन्दै सामूहिक सरुवाको माग गरेका हुन् ।
‘पछिल्लो परिवेशमा सिर्जित लगभग ६० किलो सुन भन्सार चोरी–छली जाँचपास भएको घटनापश्चात विभिन्न निकायबाट गरिएको अनुसन्धान तथा छानबिनको बहानामा दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस भएको छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सामूहिक सरूवा माग गर्नेमा तीन दर्जन भन्सार अधिकृतहरूसमेत रहेका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै सामूहिक सरुवाको माग गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १३:०८













