News Griha :: न्यूजगृह
सभामुख र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु

काठमाडौं— सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको छ । बुधबार सिंहदरबारमा सभामुख र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूसँग छलफल सुरु भएको हो । 

बैठकमा समितिका काम कारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत चयन भएका थिए । 

जसअन्तर्गत सार्वजनिक लेखा समितिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह चयन भएका छन् ।

यस्तै, अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा कांग्रेसकै रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा काग्रेसकै डा. आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान चयन भए ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानुन, न्याय तथा मानव अधिकार समितिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् ।

छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति उपस्थित भएका छैनन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:०७
Weather Update