News Griha :: न्यूजगृह
प्रचण्ड सरकारको १०० दिने उपलब्धिः विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी फिर्ता [पूर्ण पाठ]

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिन पुगेको अवसरमा यसबिचमा भए गरेका कामकारबाहीको फेहरिस्त सार्वजनिक भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्त्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो ।  सरकारले १०० दिनमा आफ्नो उपलब्धिलाई ३७ बुँदामा समेटेको छ ।

जसअन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाउनुलाई प्रचण्ड सरकारले मुख्य उपलब्धिका रुपमा लिएको छ । १०० दिनको उपलब्धिको १० नम्बर बुँदामा उक्त विषयलाई प्राथमिकता दिइएको छ । १० नम्बर बुँदामा भनिएको छ, 'मुलुकको आन्तरिक सुरक्षालाई थप सुदृढ गर्नेतर्फ थप प्रयास गरिएको छ । यस अवधिमा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७, को पूर्ण कार्यान्वयन गरिएको छ (बहालवाला तथा पूर्व विशिष्ट पदाधिकारीहरूको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना, सशस्त्र प्रहरीका १२६ जना गरी जम्मा ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको छ)।'

 प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरूको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरू अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ ।

हेर्नुस् पूर्णपाठः

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:५४
Weather Update