News Griha :: न्यूजगृह
एमालेका शीर्ष नेताहरू सवार विमानमा समस्या आएपछि...
फाइल तस्बिर

काठमाडौं— नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एअरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिक पुगेर काठमाडौं फिर्ता भएको छ । 

सिरहामा बुधबार तय भएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जाने क्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अर्को विमानबाट त्यसतर्फ जाँदै छन् ।

विमानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा रहेका थिए ।

‘हामी पार्टीको सिराहामा बस्ने सचिवालय बैठकमा सहभागी हुन जनकपुर हुँदै त्यसतर्फ जाँदै थियौँ, जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराउनु भयो,’ उपाध्यक्ष नेम्वाङले भने, ‘त्यसपछि हामी काठमाडौं उत्रिएर अहिले अर्को विमानबाट त्यसतर्फ जाँदै छौँ ।’

बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जाने छन् । अरू नेताहरू काठमाडौंबाट त्यसतर्फ जाँदै थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:२३
Weather Update