News Griha :: न्यूजगृह
मदन भण्डारीको सम्झनामा ३४ वर्षपछि सिरहामा एमालेको बैठक बस्दै

सिरहा— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बुधबार सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको छ ।

एमाले केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार बुधबार पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११ः३० बजे बस्ने बैठकको सबै तयारी पूरा भएको छ ।

यसअघि भदौ ९ गते तय भएको सचिवालय बैठक वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथोँ महाधिवेशन गरेको थियो ।

उक्त महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ । 

‘चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो,’ सचिव भट्टराईले भने, ‘एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो, त्यसैको सम्झना स्वरुप बैठक यही स्थानमा तय गरिएको हो ।’

सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए ।

त्यस्तै, उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटक स्थलका रूपमा विकास गरिने उनको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:००
Weather Update