उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

काठमाडौं— निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।
आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् । आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं १ तथा बारा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १५:४९













