News Griha :: न्यूजगृह
मौसम : देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा बुधबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र देशका बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहका क्षेत्रका नदीमा जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भू–क्षय जस्ता प्रकोपको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०५:४८
Weather Update