
काठमाडौं— ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिएपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । चाँडै आचार्य हङकङ जाने पनि उनले बताए ।
गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
त्यसको २ सातापछि सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । सीआईबीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।













