काठमाडौं— काठमाडौं महानगरपालिकाले ऐतिहासिक दरबार हाइस्कूलको हाताभित्र सञ्चालित २ विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ ।
एउटै भवनामा २ विद्यालय सञ्चालन हुँदा दरबार हाइस्कूलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाइस्कूल’ बाट सञ्चालन गर्न लागेको कामपाले जानाएको छ ।
कामपाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार आउने शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चलान हुनेछ । एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन् ।
कोइरालाले भने,‘भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाइस्कूलकै नामले सञ्चालन गर्न लागिएको हो ।’
वि.सं.१९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो ।
लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु कामपाको कर्तव्य भएको उनको भनाइ छ ।













