News Griha :: न्यूजगृह
संसद्लाई साझा थलोको रूपमा विकास गर्न संसदीय समिति सभापतिमा भागबन्डा गर्‍यौं : सचेतक लेखक

काठमाडौं— प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई साझा थलोको रूपमा विकास गर्न संसदीय समिति सभापतिको भागबन्डा गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले संसद्लाई सबैको साझा थलोको रूपमा विकास गर्न सकियोस् भन्नका लागि समिति सभापतिको बाँडफाँट गरिएको बताएका हुन् ।

‘संसद् सबैको थलो हो भन्ने रूपमा विकास गर्नुपर्छ भन्ने मान्यताअन्तर्गत हामीले समितिको बाँडफाँट गरेका हाैं,’ उनले भने । उनले यसबाट ऐतिहासिक अभ्यास प्रारम्भ गरेको पनि बताए ।

सचेतक लेखकले यस प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समावेश गराउन चाहेको भए पनि सम्भव नभएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:१६
Weather Update