News Griha :: न्यूजगृह
अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

बुटवल— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब समाजवादी गणतन्त्रमा जानु पर्ने आवश्यकता औँल्याएका छन् ।

उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानु पर्ने बताएका हुन् ।

समाजवादी मोर्चाले मंगलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो, अझै टुंगो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।’

उनले समाजवादी गणतन्त्रका लागि अब छिट्टै सडकमा जाने पनि बताए । उनले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिब उत्पीडित जनताका लागि अधिकार प्रत्याभूत गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताएका थिए ।

यसै क्रममा प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाए । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुन सक्छ ? भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:२४
Weather Update