
काठमाडौं— नेकपा माओवादीका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भद्र सहमति भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि पत्रकारसँग बोल्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दुई दलका अध्यक्षबीच भद्र सहमति भएको बताएका हुन् ।
सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको उनको भनाइ थियो । उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाले सहमति सम्भव भएको बताए ।
‘मध्यावधि निर्वाचनमा जानका निम्ति अर्थतन्त्रको हिसाबले अर्बौं खर्च हुने, मुलुकले अहिले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोशी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हामीलाई राप्रपाको साथ चाहिन्थ्यो,’ उनले भने, ‘उहाँहरू सहमत भइसकेपछि मुख्यतः माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो, प्रधानमन्त्री ज्युसँग भद्र सहमति भएको छ ।’
उनले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताएका थिए । विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचना बनाएको उनले आरोप थियो ।