News Griha :: न्यूजगृह
अब राजनीति युवाको पक्षमा ल्याउनु पर्छ, हामी त बुढो भइसक्यौँ : सांसद कोइराला

काठमाडौं— नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरूको पक्षमा हुनु पर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरूको पक्षमा ल्याउनु पर्ने बताएका हुन् ।

उनले आफूहरू बुढो भइसकेको र कहिले ढल्ने थाहा नभएको बताउँदै राजनीतिमा युवाको आवश्यकता औँल्याएका हुन् । उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सबे प्रदेशमा घुम्ने बताए ।

‘पन्ध्रौँ महाधिवेशन तयारीको सिलसिलामा सातै प्रदेशमा घुम्ने, किनभने भोलिको राजनीति भनेको युवाहरूको पक्षमा ल्याउनु पर्छ, हामी त बुढो भइसक्यौँ कहिले ढल्छौँ थाहा छैन,’ उनले भने ।

यसैबीच सांसद कोइरालाले सभापतिको उम्मेदवार बन्नेबारे साथीहरूसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए । ‘म सबभन्दा पहिले साथीहरूसँग कुरा गर्छु, उनीहरूको चाहना के हो ? मैले मात्रै चाहेर त भएन नि, उनीहरूको चाहना हेर्छु, अनि त्यसपछि निर्णय गर्छु,’ उनले थपे । 

यसैगरी, सरकारलाई स्थायित्व दिनका लागि गठबन्धन गरेको बताउँदै जनता खुसी हुन नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:५३
Weather Update