News Griha :: न्यूजगृह
गृहमन्त्री श्रेष्ठ र कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौं— उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो ।

यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा कोरियाली साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेको बताए ।

रोजगार अनुमति प्रणाली (इपीएस) कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकामा धन्यवाद दिँदै उनले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्नसमेत आग्रह गरे ।

काठमाडौं र सोलबीच सीधा हवाई उडान सम्पर्क स्थापना गर्न सकेमा नेपाल आउने दक्षिण कोरियाली पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुने, नागरिक–नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनको भनाइ थियो ।

भेटमा राजदूत पार्कले शान्ति, नागरिक सम्बन्ध र समृद्धि नेपाल–दक्षिण कोरिया सम्बन्धका आधार भएको बताए । ‘इपीएस’अन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको उनको भनाइ थियो ।

इपीएस र कोइकामार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए । राजदूत पार्कले दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङलगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १५:१६
Weather Update