
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको त्यस्तै संसदमा पेश गरिएको भन्दै आलोचना गरेकी छन् ।
कूल ८१ वटा ऐनहरू आकर्षित हुने विधेयक सरकारले सांसदहरूलाई पढ्ने मौकासमेत नदिएर संसदमा पेश गरेको भन्दै आलोचना गरेकी हुन् ।
मंगलबार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै सांसद गौतमले विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरूले पेश गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षणसमेत गराइन् ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ यसरी जस्ताको त्यस्तै प्रस्तुत हुनु हुँदैन भनेर मैले यही रोष्टमबाट कारणसहित भनेको थिएँ, यो विधेयक पेश भए संसदीय इतिहासमा एउटा दुभाग्यपूर्ण त्रुटी हो सभामुख महोदय,' उनले भनिन्, 'मन्त्री जीहरूले मन्त्रालयअनुसार अलग अलग प्रस्तुत गर्नु पर्नेमा खिचडी बनाएर गरिएको छ, के सरकारलाई थाहा छैन ? थाहा छैन भने विज्ञहरूलाई बोलाएर पढौँ, तर यसरी व्यवस्थामाथि प्रहार हुने गरी काम गर्न भएन ।’
सांसद गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घण्टाभित्र सांसदहरूले संशोधन हाल्न नसक्ने बताएकी थिइन् ।