
रुपन्देही— नेपाल वायुसेवा निगमले मंगलबारदेखि भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ ।
मंगलबारबाट सुरु भएको नेपाल एअरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ ।
भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि मंगलबारबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एअरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको बताए ।
मंगलबारको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।
उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो । नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो ।
त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ साल जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।













