
काठमाडौं— नेकपा एमाले सांसद पदम गिरीले सरकारले जनतालाई सुशासन दिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले सत्ता पक्षका भ्रष्टचारीको नाइकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए । उनले प्रधानमन्त्री प्रचण्ड सामाजिक सद्भाव भड्काउन भूमिका खेलेकोसमेत टिप्पणी गरे ।
‘मुलुकमा मिलेर बसेका दाजुभाइहरूलाई आपसमा विद्रोह फैलाउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सिर्जना गर्ने काममा स्वयं प्रधानमन्त्रीले मलजल गरिरहनु भएको छ,’ उनले भने, ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदका बसेको व्यक्ति विद्रोह र घृणा फैलाउने काम गर्ने यो कुनै पनि हालतमा स्वीकार्य छैन ।’
उनले सरकारमा सहभागी दलका नेताहरू जस्तोसुकै काण्डमा मुछिए पनि छुट दिने काम भएको दाबी गरे । ‘आज हामी सुशासन दिइरहेका छौँ, भनेर सरकारले गोटी हानिरहेको छ, तर व्यवहारमा भ्रष्टचारका नाइकेहरू सत्ता पक्षका नेताहरू जति ठूलो अपराध र कर्तुत गरे पनि छानबिनको दायरामा ल्याइदैनँ,’ उनले भने ।