
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार ढाल्ने षड्यन्त्र जारी भएको बताएका हुन् ।
सरकार ढाल्ने कोशिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको उनको दाबी थियो । यसैबीच उनले कुनै ठूलो घटना नभए यो गठबन्धन पाँच वर्ष चल्ने बताए ।
‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन्, यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन्, तर कसैको केही लाग्ने मैले देखेको छैन,’ उनले भने, ‘जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन्, गठबन्धन पाँच वर्ष नै जानेछ, मैले त्यही देखेको छु ।’
प्रधानमन्त्री प्रचण्डले अहिले अतिवादी विचार र प्रवृत्तिहरू कही धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे ।
‘अहिले अतिवादी विचार र प्रवृत्तिहरू कही धार्मिक त कतै जातीय माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ कि ? भन्ने कसरत छन्,’ उनले भने, ‘त्यसमा हामी संवेदनशील छौँ, उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्न सक्छ ।’
यसैबीच प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नभए देश ठूलो दुर्घटनामा जाने बताए । माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताउँदै उनले युद्ध कालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले नेपाल-भारत सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरूले पचाउन नसकेको बताए ।