
काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि अलोचना भएको बताएका छन् ।
माओवादी केन्द्रको उपत्यका विशेष समितिले मंगलबार बिहान काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले अरू पार्टीले जे गरे पनि आलोचना नहुने तर माओवादीले राम्रो काम गर्दा पनि विरोध भएको गुनासो गरेका हुन् ।
‘कांग्रेस, एमाले वा अरू कुनै पार्टीले केही सानो काम गर्याे भने पनि चर्चा हुन्छ । ठूला गल्ती हुँदा पनि प्रश्न उठ्दैन,’ उनले भने, ‘हामीले राम्रो काम गर्दा पनि आलोचना हुन्छ । हाम्रो नेताकार्यकर्ताले त्यही काम गर्यो भने नकारात्मक टिप्पणी र अलोचना हुन्छ ।’
माओवादीले अझै काम गर्नुपर्छ भन्ने जनाताको अपेक्षा रहेको बताउँदै पुनले भने,‘आफूहरू चुकेका ठाउँमा राजनीतिक अतिवाद देखा परेको र माओवादीले लिएको एजेन्डामा देश चलेको छ । हामी दृढतापूर्वक जनताको पक्षमा काम गर्नुपर्छ ।’