News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेकाहरूको बयान मंगलबार पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गरेको हो ।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलले भने किर्तेमा मुद्दा चलाएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ । मंगलबार ४ जनाको बयान लिने तयारी काठमाडौं जिल्ला अदालतले गरेको छ ।

ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा ४ पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:३५
Weather Update