News Griha :: न्यूजगृह
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दै नेपाल एअरलाइन्स

काठमाडौं— नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ ।

मंगललबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भैरहवाबाट काठमाडौंसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौं–दिल्ली र काठमाडौं–हङकङकै भाडादरमा उडान सुरु गर्न लागेको जानकारी दिए ।

उनले भने,‘भैरहवाबाट बिहान ९ बजे काठमाडौं ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ । यसअन्तर्गत पहिलो उडानका क्रममा निगमले मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौं आउने छ ।’

उनले निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ र दिल्ली जाने यात्रु बोकेर काठमाडौं आउने बताए । अहिले निगमले काठमाडौं–मलेसिया–भैरहवा रुट बनाएर उडान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:४३
Weather Update