
काठमाडौं— उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एअर भाइस मार्सल मनिषकुमार गुप्ता, एभीडीएसएम, एसडीएस (एअर) एनडीसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सोमबार रक्षा मन्त्रालय भएको भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको जानकारी गराए ।
संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उनले भ्रमण दलका सदस्यहरूलाई बताए ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भारतीय एअर भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकामा उनले धन्यवाद दिए । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाइ छ ।













