
तनहुँ— नेकपा एमालेका सर्वेन्द्र खनालले तनहुँ १ मा उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार खनालले उम्मेदवारी दर्ता गरेका हुन् ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन गइरहेको छ । जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो ।
तनहुँ १ बाट मनोनयन दर्ता गरेका खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन् । उनी गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
एमालेका खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद् सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् । खनाल मनोनयन दर्ता र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
अहिलेसम्म तनहुँ–१ मा नेमकिपाका रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मनोनयन दर्ता गर्ने भएको छ ।













