
काठमाडौं— तत्काललाई भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् रोजन लामिछानेले हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताए ।
लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागका क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्नसक्ने गेग्र्यान बहाब, बाढीपहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।













