
काठमाडौं— बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहाेर लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहाेर लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहीत ल्याण्डफिल साइट र फोहोर व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैंका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने जानकारी गराएका छन् ।
उक्त सम्मेलनमा समिति संयोजक श्रीराम ढुंगानाले स्वच्छरुपमा बाँच्न पाउने मानवअधिकार राज्यले सुनिश्चित गर्न नसकेको बताउँदै महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा गरेको अविवेकपूर्ण व्यवहारमा आपत्ति जनाए ।
‘अरुलाई बचाउन आफू मर्नुपर्ने कस्तो अत्याचार ? स्थानीय जनताको जीवनरक्षाको लागि नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । पुस्तौंपुस्ताले सहेको यो व्यवहार दीर्घकालीन समाधान नभएसम्म ल्याण्डफिल साइटमा फोहोर लैजान सधैंका लागि बन्द गर्छौँ’,उनले भने ।
प्रभावित क्षेत्रका पीडित व्यक्ति हरि लामाले फोहाेर र मानव एकैठाउँमा रहन नसकिनाले सरकारले गरेको अपहेलना सह्य नभएकाले आन्दोलन गर्न बाध्य भएको गुनासो गरे ।













