
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यार्थी संख्या घट्दैजानु र शिक्षक संख्या यथावत् रहनु राम्रो संकेत नभएको बताएका हुन् ।
उनले भने,‘हाम्रो शिक्षाको क्षेत्रमा विस्तारै विद्यालयमा विद्यार्थीको संख्या घट्दै जाने, शिक्षकको संख्या यथावत् रहने राम्रो संकेत होइन । केही विद्यार्थी पढ्ने बेलासम्म यहाँ बस्छन । पढेपछि बाहिर जान्छन् । अहिले त पढ्नकै लागि पनि ठूलो संख्यामा बाहिर जाने अवस्था बनेको छ, अब विस्तारै स्कुल, कलेज रित्तिँदै जाने खतरा पैदा भएको छ ।’
उनले ऐन, कानुन र परम्पराको डोरीमा बाँधिएकाले परिणाम दिन नसकेको बताए । प्रधानमन्त्री दाहालले देश विकासकाे मोडेलमा व्यापक बहस र रुपान्तरणको आवश्यकता रहेको पनि बताए ।













