News Griha :: न्यूजगृह

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावी पुस्ताको भविष्य सुरक्षित गर्नका निम्ति आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार चितवन २ मा मनोनयन दर्ता गराएपछि  पत्रकारसँग कुराकानी गर्दै लामिछानेले त्यस्तो बताएका हुन् । 

सभापति लामिछानेले सोमवार चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर  पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको प्रतिक्रिया दिए । 

उनले आफूले यस पटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए । तपाईंको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्‍यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको समेत बताए । 

सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी

भएका थिए । लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो । 

गत मंसिर ४ मा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए भने नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका थिए । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:१५
Weather Update