News Griha :: न्यूजगृह
यति-ओम्नीको छानबिन गर्न चुनौती दिँदै ओलीले भने– एउटा धतंगा रोष्ट्रममा हुँ-हुँ कराएको-करायै छ
फाइल तस्बिर

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी, गिरिबन्धु टि स्टेट र यति–ओम्नीको छानबिन गर्न चुनौती दिएका छन् ।

काठमाडौंमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले यति–ओम्नीको बारेमा पत्रिका पढेर थाहा पाएको दाबी गरे ।

‘यति होल्डिङको छानबिन गर न त भन्यौ, गर्दैनन्, वाइडबडीको छानबिन गर आफैं जेल जाऊ, अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले भागा र भाग छ,’ उनले भने, ‘यता एउटा ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ, यी भ्रष्टहरू उल्टै एमालेलाई धम्की दिँदै छन् ।’

यस्तै, उनले गिरिबन्धु टि स्टेटको जग्गा कानुनबिना बेच्न दिएर कमिसन खाएको बताउँदै आफूले कानुन बनाएको दाबी गरे । 

‘हामीले कानुन बनाइदिएका हौँ, कानुनको आधारमा जग्गा सट्टापट्टा गरेर मात्र बेच्न पाउने भनेको हो,’ उनले भने, ‘गैरकानुनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानुन बनाउँदा कमिसन खान पाइँदैन ।’

यसै क्रममा उनले सरकारको संरक्षणमा एयरपोर्टबाट भइरहेको सुन तस्करीलाई निर्वाध चल्न दिन संसदमा पशुपतिको जलहरीको विषय उठाएको दाबी गरे ।

संसदमा माओवादी सांसद राजन दाहालले जलहरीमा सुनको साटो पित्तल राखिएको आरोप लगाएको बताउँदै आफै सुन तस्करीमा लागेको बताए ।

‘यी भष्टहरू कतिसम्मका छन् भने एयरपोर्टबाट सुन तस्करी गरिरहेका रहेछन्, त्यता ध्यान नआजोस भनेर एउटा धतंगाले संसदको रोष्ट्रममा उभिएर केपी ओलीले सुन भनर पित्तल हाल्यो भनेर करायो,’ उनले भने, ‘एउटा धतंगा हरेक बेलुका हुँ हुँ कराएको करायै छ, अरु त्यसपछि स्याल हुइँया गर्छन् ।’

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:११
Weather Update