काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकपछि अर्को भ्रष्टाचार काण्ड बाहिरिए पनि नेताहरूले आफू अनुकूलतामा सत्ता बार्गेनिङको टुल बनाइरहेको बताएका छन् ।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, टीकापुर जग्गा प्रकरणलगायत सामसुम पार्न नेताहरूले अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना बढ्दै गएको थापाले सोमबार ट्वीटरमार्फत बताएका हुन् ।
उनले लेखेका छन्,‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटना छानबिन गर्न, गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउनुपर्छ । यस्तै धारणा भएको अन्य पार्टीका साथीहरूसँग समान धारणा बनाऊँ अनि पार्टी बाहिर नागरिक आन्दोलनसँग एकाकार होऔं ।’
उनले यस्ता प्रयास भएमा भ्रष्टाचार जालो तोड्ने र सुशासन कायम गर्न बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्ने बताएका छन् ।
भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो। pic.twitter.com/V2qDyf4ArJ
— Gagan Thapa (@thapagk) August 28, 2023













