News Griha :: न्यूजगृह
कृषिको कार्य क्षेत्रमा भूमिका निभाउने छु : आरजु राणा

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् ।

सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीले देउवा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरे । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् ।

‘सभापति भनेको ‘कोर्डिनेटर’को भूमिका हो, यहाँ साथीहरूले दिनु भएको सुझाव, देखाउनु भएको मार्गमा नै अगाडि कामकाज बढाउने योजना छ, त्यसो हुनाले मलाई एकदमै खुसी लागेको छ, राम्रो सहकर्मी साथीहरूसँग मिलेर केही काम गर्न पाउँछु होला भन्ने चाहन्छु,’ उनले भनिन्, ‘संविधान अनुरुप र जनताको आशा अनुरुप सरकारलाई दिने ‘पोलीसी, डिरेक्सनहरू’ र सरकारको काम गर्ने तौरतरिकामा गर्न सक्ने ‘इम्प्रुभ्मेन्ट’मा सफलताका साथ अगाडि बढोस् भनेर भन्छु ।’

उनले संविधान अनुरुप र जनताको आशामा सरकारलाई सुझाव दिने बताइन् । उनले कृषि बृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने बताएकी थिइन् ।

'यो कार्य क्षेत्रमा जति पनि माननिय ज्युहरू हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ, त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ,' उनले भनिन् ।

उनले सम्वद्ध मन्त्रालयलाई आवश्यकअनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने दाबी गरिन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:४९
Weather Update