News Griha :: न्यूजगृह
प्रतिनिधि सभाअन्तर्गत सबै समितिका सभापति निर्विरोध
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिमा सभापति निर्विरोध भएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएको छ । साथै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता हुँदा पराजुलीले फिर्ता गरेका थिए ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । 

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको निर्वाचित भए । 

प्रतिनिधि सभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५०
Weather Update