
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अभियानलाई स्थानीय तहसम्म विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहसम्म सुशासन कायम गर्न अभियान चाल्नु पर्ने बताए ।
‘संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्ने कदम प्रदेश र स्थानीय तहमा समेत विस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्त सञ्चार गर्न आवश्यक छ,’ उनले भने ।
यस्तै, उनले विकास आयोजनाहरूमा राम्रो गर्नेहरूलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना तथा कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिनु पर्ने उनको भनाइ थियो ।