
लुम्बिनी— नेकपा एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले संघीयताले जनातका अधिकार स्थापित गर्ने बताएकी छन् ।
एमाले संघीय संरचनाबारे पुनर्विचार गर्नु पर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले संघीयताप्रति एमाले स्पष्ट रहेको बताइन् ।
पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा सोमबार बुटवलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताएकी थिइन् ।
एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।
प्रदेश अधिवेशनका लागि १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । अधिवेशनमा महिला ३३ प्रतिशत पुर्याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित, महिला, युवाको फरक-फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिइन् ।